आज विश्व रेबिजविरुद्धको दिवस मनाइँदै

काठमाडाैं | असोज ११, २०८०

आज विश्व रेबिजविरुद्धको दिवस मनाइँदै

काठमाडौं:   विश्व रेबिजविरुद्धको दिवस नेपालमा पनि विभिन्न जनचेतनामूलक कार्यक्रम गरी मनाइँदैछ । रेबिज रोकथाम र यस रोगविरुद्धमा भइरहेको प्रगतिको जागरुकता जगाउनका लागि हरेक वर्ष सेप्टेम्बर २८ लाई विश्व रेबिज दिवसको रुपमा मनाइन्छ । 


यस वर्षको नारा ‘सबैका लागि एक, सबैका लागि एकै स्वास्थ्य’ ले स्वास्थ्य केही चुनिएका व्यक्तिका लागि मात्र होइन, सबैका लागि हो भन्ने कुरालाई प्रकाश पारेको छ । यो दिवस लुइस पाश्चरको मृत्युको वार्षिकोत्सवका रुपमा समेत मनाइन्छ । फ्रान्सेली वैज्ञानिक लुइसले रेबिजविरुद्धको पहिलो खोप विकास गर्नुभएको थियो । 


यस दिवसको उद्देश्य रेबिजविरुद्धको लडाइँमा सबै समूह, सङ्गठन र सरोकारवालालाई एकजुट गराउने हो । ग्लोबल एलायन्स फर रेबिज कन्ट्रोलले सन् २००७ देखि विश्व रेबिजविरुद्धको  दिवसको रुपमा मनाउन थालेको थियो । कालान्तरमा विश्व स्वास्थ्य सङ्गठनले यस दिवसलाई समर्थन गरेको थियो । 


नेपालले सन् २०३० सम्म रेबिजलाई शून्यमा झार्ने लक्ष्य लिएको छ । तर नेपालको सन्र्दभमा रेबिज चुनौती बन्दै गएको चिकित्सक बताउनुहुन्छ । अझै पनि ९९ प्रतिशत रेबिज कुकुरको टोकाइबाट हुने गरेको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको गत आर्थिक वर्ष २०७९/८०को तथ्याङ्कअनुसार ७५ हजार पाँच सय ६२ जनालाई कुकुर र नौ हजार नौ सय २१ जनालाई अन्य जनावरको टोकाइबाट विरामी भएका थिए । 


यस्तै आव २०७५÷७६ मा ३२ हजार आठ सय ८२ जनालाई कुकुरले टोकेको थियो । यो सङ्ख्या क्रमशः बढ्दै गएर आव ०७७/७८ मा ५४ हजार नौ सय ९६ जना पुगेको थियो ।  


गत आवमा दुई लाख ५० हजार, ‘एआरभी’ भायल खोप खपत भएको थियो । महाशाखाका अनुसार आव ०७०र७१ मा नेपालमा रेबिजका कारण १० जनाको मृत्यु भएको थियो । 


आव ०७१/७२ मा १३ जना, आव ०७२/७३ मा छ जना, आव ०७३/७४ मा आठ, आव ०७४/७५ मा ३२ जना र आव ०७५/७६ मा १८ जनाको रेबिजका कारण मृत्यु भएको थियो । तर पछिल्ला वर्षहरुको तथ्याङ्कमा रिपोर्ट भएका जनावरको टोकाइका घटनाको सङ्ख्यामा उतारचढाव आए पनि रेबिजको मृत्युको सङ्ख्या गत वर्षको तुलनात्मक रुपमा बढ्दै गएको महाशाखाका अधिकारी बताउँनुहुन्छ । 


रेबिज एक घातक भाइरल सङ्क्रमण हो, यसलाई न्यूरोट्रोपीक भाइरस भनिन्छ । जुन छाडा कुकुर, स्याल, चमेरो, न्याउरी मुसो, बाघ, चितुवा र बिरालोजस्ता सङ्क्रमित जनावरको टोकाइबाट सर्छ । रेबिजबाट बच्नको लागि सम्भावित जोखिम पछि तुरुन्तै खोप लगाउनु आवश्यक हुन्छ । 


रेबिजको सङ्क्रमणको लक्षण ज्वरो र टाउकोबाट सुरु हुन्छ र प्रकाश, पानी र हावादेखि डर लाग्ने हुन्छ । यसले पक्षघात र अन्ततः कोमामा समेत पुग्ने जोखिम हुन्छ । कुकुर वा बिरालोजस्ता जङ्गली जनावर वा घरपालुवा जनावरलाई छुँदा वा खुवाउँदा धेरै सावधानी अपनाउन चिकित्सकको सुझाव छ । 


महाशाखाका पशु चिकित्सा अधिकारी रोशिका श्रेष्ठले भन्नुभयो, “टोक्नासाथ रेबिजविरुद्धको खोप लगाएमा यो रोगबाट बच्न सकिन्छ । अन्यथा एक पटक लक्षण देखा पर्न थालेपछि, यो घातक हुन्छ, र धेरैजसो अवस्थामा मृत्यु हुन्छ ।” रेबिजबारे भ्रमलाई चिर्न यसबारे जनचेतना अभिवृद्धि गर्न आवश्यक भएको उहाँले बताउनुभयो । “कुनै पनि उमेर समूहका कुनै पनि प्रकारका कुकुरले टोक्दा यो रोग सर्न सक्छ । घरमा खोप लगाएको छ भनेर हुँदैन । घरमा पालेको कुकुरमा समेत सङ्क्रमण हुन सक्छ”, उहाँले भन्नुभयो,  “तुरुन्त रेबिजविरुद्धको भ्याक्सीन लगाउनुपर्छ । पाँच वर्षमुनिका बालबालिकालाई रेबिज लाग्दैन भन्ने भ्रम छ । सबै उमेर समूहका लागि यसविरुद्धको खोप अत्यावश्यक हुन्छ ।”


जनावरले टोक्ने बित्तिकै बगिरहेको, धाराको पानीमा १५ मिनेटसम्म सफा गर्नेपर्ने उहाँको सुझाव छ । सरकारले प्राथमिक स्वास्थ्य केन्द्रमा यसविरुद्धको खोप निःशुल्क उपलब्ध गराउँदै आएको छ । चिकित्सकका अनुसार घाउमा बेसार, खुर्सानी दल्ने चलन छ, त्यसले सङ्क्रमण झन बढ्ने जोखिम हुन्छ ।

मुस्ताङको बारागुङ मुक्तिक्षेत्र गाउँपालिका वडा ४ मा अवस्थित पवित्र तीर्थस्थल कागबेनीमा बिहीबार चैत्र कृष्ण औँसीको तिथीमा पितृतर्पण गर्नेको भिड लागेको छ ।    काग खोला र कालीगण्डकीको तटमा अवस्थित क...

थप पढ्नुहोस्

निर्वाचन आयोगले प्रतिनिधि सभा सदस्य निर्वाचनमा समानुपातिकतर्फबाट निर्वाचित सांसदहरुलाई प्रमाणपत्र वितरण गरेको छ ।   आयोगले बिहीवार एक कार्यक्रमकाबिच समानुपातिकतर्फका एक सय १० जना सांसदहरुलाई प्रमाणप...

थप पढ्नुहोस्

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आफ्ना नवनिर्वाचित प्रतिनिधिसभा सदस्यका लागि अभिमुखीकरण सुरु गरेको छ।   दुईदिने सो अभिमुखीकरणमा सांसदलाई संसदीय अभ्यास, नीति निर्माण, संसद्को कार्यप्रणाली तथा जनप्रत...

थप पढ्नुहोस्